७० करोड काण्ड: ७ दिनभित्र अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन

Top Post समाचार

१७ भाद्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।
जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

गत जेठमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।