उपत्यकामा निषेधाज्ञा उल्लंघन गरेका ३ हजार सवारि साधन कारबाहीमा

Top Post समाचार

४ भाद्र, काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरुले लागू गरेको निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका तीन जिल्लामा झन्डै तीन हजार सवारी साधन कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाका तीन जिल्लामा २९ सय २ वटा सवारी साधन प्रहरी नियन्त्रणमा लिइएका छन् ।

यिनमा २२ सय ९४ वटा दुई पांग्रे र ६ सय ८ वटा चार पांग्रे सवारी छन् ।

करिब २ हजार पैदल यात्रीलाई सचेत बनाइएको तथा होल्डिङ सेन्टरमा राखी निषेधाज्ञा र कोरोना संक्रमणबारे सचेतना कक्षा दिएर छोडिएको थियो ।

केही स्थानमा भने प्रशासन र प्रहरीबीच प्रभावकारी समन्वयव नहुँदा अत्यावश्यक सामाग्रीको ढुवानी तथा बिक्री वितरणमा समस्या भएको थियो । काठमाडौंका सहयाक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिलो दिन भएकाले केही स्थानमा समन्वय अभाव भएको गुनासो आएको बताए । ‘भोलिबाट निषेधाज्ञाको व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइनेछ,’ पौडेलले भने, ‘आज पहिले दिन भएकाले केही स्थानमा समन्वय भएनछ । अत्यावश्यक सेवा प्रवाहमा रुकावट हुन दिइनेछैन ।’