यात्रु नबोक्ने त्यो पानीजहाज

Top Post बिचार

४ भाद्र, काठमाडौँ। गत बर्ष गर्मि याम मा घुम्ने क्रममा अजरबैजानको बाकु जाने निर्णय भयो र नेपालको एअरपोर्ट देखि नै बाकुको बारेमा कौतुहलता जाग्न थालेको थियो। कतिपय साथीहरुको धारणा थियो कि, मुस्लिमको बाहुल्यता भएको देशमा घुमफिर गर्न को लागि पनि कडा नियमहरुको पालना गर्नुपर्ने हुन्छ र कतिपय साथीहरुले चाहि खुलेर घुम्न पाइने तर्क गर्दै थिए। हामि धेरै को संख्या मा थियौं र घुम्न सहज होस् भन्ने हेतुले घुम्ने तालिका र बसोबासको जिम्मा एक ट्राभल कम्पनि लाइ दिएको थियौं।

बेलुकीपख को उडानले हामीलाई मलेसिया लगेर ल्याण्ड गरायो र हामी सोहि एअरपोर्टमा ४ घण्टा कुरेर अर्को जहाजको प्रतिक्षामा बस्यौं। मेरो लागि मलेसिया एअरपोर्ट त नौलो थिएन तर बाकु भने पक्कै नौलो थियो। मुस्लिम देश भएकोले सजिलै अनअराइभल भिसा दिदैनकि भन्ने त्रास पनि मनमा थियो तर बिगतमा अरु देश पनि घुमेका कारणले ढुक्क हुने अवस्था बनेको थियो। मलेसिया एअरपोर्ट पनि हाम्रो लागि भब्य र सभ्य लाग्यो जहा हरेक कार्यहरु सिस्टममा चलेको थियो। साएद हाम्रो एअरपोर्टको ब्यबस्थापन पनि सभ्य हुन्थ्यो त हामि अरु बिदेशका एअरपोर्ट मा पाइला टेक्ने बित्तिकै अलमल्ल पर्ने अवस्था आउने थिएन। नेपालको राजनीति र नेताहरुको चरित्र मानसपटलमा आइरहन्थ्यो र सोध्न मन लाग्थ्यो, ” हामीले तिरेको करले किन बिकाश को सम्भाबना देख्दैन?” अनेक कुराहरु को अनुभूत गर्दै गर्दा बाकु जाने जहाज मा यात्रा गर्न को लागि तयार रहन भनियो जतिबेला बिहानको उज्यालो हुन लागेको थियो।

केहीबेर पछि बाकु जाने जहाज चढियो। हामीलाई बाकु पुग्न थप ४ घण्टा लाग्छ भनेर क्याबिन क्रू ले जानकारी गराइरहेको थियो। केहि बेर मा नै बाकु पुगियो र बिमानस्थलमा झरियो। त्यसपछि भिसाको लागि राहदानी बोकेर लाइनमा लाम लाग्यौं। एअरपोर्ट पुग्दा चाहिं मैले अनुभूति गरिसकेको थिएँ कि अनअराइभल भिसा पाउन सजिलो छैन। यतिकैमा राहदानी बुझाउने पालो आयो र धेरै नसोचेको प्रश्न को सामना गर्नु पर्यो। उनीहरुलाई शंका लागेको खण्डमा जति समय पनि होल्ड गर्न पाउने रहेछन र हामि मध्यकै एक जना लाइ शंका लागेर सम्पूर्ण शरीर इस्क्यान गर्न लगियो र करिब ३० मिनेट राखेपछि भिसा दियो।

विमानस्थल बाट निस्केपछि बिहान को ११ बजिसकेको थियो। रातको निन्द्रा र भोक ले गर्दा होटेलमा गएर आराम गर्ने अनि खाना खाएर तालिका अनुसार घुम्न निस्किने निर्णय गरियो। तालिका अनुसार हामि त्यो दिन सहर मात्र घुम्यौं र गाइडले त्यो देश मा गर्न मिल्ने र नमिल्ने कुराहरुको जानकारी गराए। भोलि पनि सोहि अनुसार समुन्द्र को किनार मा घुम्न जाने तालिका थियो र लन्च गरिसकेपछि घुम्न निस्कियौं। हामि भूपरिबेष्ठित देशमा रहेको कारणले समुन्द्र हाम्रो लागि नौलो र रमाइलो थियो। विभिन्न खेल हरु पनि खेल्न पाइने भएकाले रोमाञ्चक त थियो नै त्यति नै उत्सुकता पनि पलाइरहेको थियो।

समुन्द्र मा खेल्ने क्रम मा एउटा पुरानो पानीजहाज ले मेरो ध्यान तान्यो। पुरानो जहाज धेरै थिए र यात्रु नबोक्ने खालका जुन जहाजले समुन्द्रको धेरै ठाउँ ओगटेको थियो। मलाई त्यो जहाज देख्ने बित्तिकै हाम्रो देशको बृद्द नेताहरुको याद आयो जुन जहाज ले समुन्द्र ओगटेर बसे जसरि कुर्सि र पद ओगटीरहेका थिए। जुन जहाज ले यात्रु बोकेर गन्तव्यमा पुर्याउन सक्दैन त्यो जहाजलाइ किन समुन्द्र मा नै राखियो भन्ने प्रश्नले कौतुहलता जाग्यो र यही प्रश्न गाइड लाइ राखें। तर सोचे भन्दा फरक रहेछ त्यो जहाज लाइ समुन्द्रमा राख्नु को कारण। पेट्रोलियम पदार्थ को खानि भएकै कारण त्यो देश निकै नै बिकशित भएको रहेछ। धेरै पहिला पेट्रोल को कच्चा पदार्थ बोक्न को लागि जहाज लाइ प्रयोगमा ल्याउने रहेछन र सोहि बोक्ने क्रममा बिस्फोट भइ जहाज काम नलाग्ने अवस्था रहेको कारण जतन साथ कुनै संग्रहालय मा नलगिकन समुन्द्र मा छोडिएको रहेछ। धेरै बिदेशी पर्यटक हरुको गन्तब्य स्थल नै समुन्द्री किनार भएको कारण पनि इतिहास लाइ संसार सामु चिनाउन समुन्द्रमा नै राखिएको रहेछ।

चाखलाग्दो कुरा त यो छ कि, प्राय जसो अर्थात् ९० प्रतिशत मानिसहरु मुस्लिम छन् तर मुस्लिम भएपनि आधुनिक शैली मा पोख्त भएका। धेरै युवाहरु ब्रान्डेड गाडीमा सौखिन र युवतीहरु पनि फ़ेशनेबल ढांचा मा सजिएर बजार घुमेको पाइयो। रफ्तारमा बिकास भएको यो देश ले आफ्ना नागरिकहरुलाई सम्पूर्ण सेवा सुबिधा दिएको रहेछ। पेट्रोल को कच्चा पदार्थ बेचेर नै नागरिकहरु मर्सिडिज र बिएमडब्लू जस्ता गाडीहरु चढ्ने हैसियत बनाएका रहेछन। सबै मानिसहरु मा मानवता र दया को भावना पाइयो जसले गर्दा आम नेपालीहरुको याद दिलायो।

रात्रि ब्यबसाय पनि निकै नै रोमाञ्चक रहेछ। हाम्रो लागि रात मा खुलेर घुम्न पाउनु पनि रमाइलोको बिषय बन्यो। २ / ३ जना मिलेर राति ट्याक्सी मा घुम्ने कुरा गर्यौं र ट्याक्सी खोज्यौं। त्यहाँको नियम पनि गज्जबकै रहेछ, न्युनतम शुल्क तिरेपछि बजार जति पनि घुम्न पाइने। पेट्रोल सस्तो भएकै कारण यातायात पनि सर्वसुलभ रहेछ। मुस्लिम को बाहुल्यता भयको देश भएपनि आनन्द ले सडक मा नै बसेर रक्सि पिउन पाइने रहेछ। यसरी सम्पूर्ण कुराको मनोरंजन लिएर छोटो यात्रा टुंग्याइयो र भोलिपल्ट बिहानै फेरी नेपाल फर्कने तयारिका साथ बाकु विमानस्थल लागियो।