सहायक रथी राणासहित तीन जना बर्खास्त

Top Post समाचार

१ भाद्र, काठमाडौँ। वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।

सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।

सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर भएको छ । गत जेठदेखि राणा सेनाको राष्ट्रिय सेवा दलमा थुनामा थिए । स्रोतका अनुसार राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ । उनलाई सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको थियो ।

– तीन जनाको घटुवा, दुईलाई सफाइ
– राणा भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर

यसैगरी, महासेनानी सिलवाललाई १५ लाख ७८ हजार ४ सय ८० रुपैयाँ बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुने गरी करबाही गरिएको छ ।

सैनिक अदालतको फैसला सैनिक ऐन, २०६३ बमोजिम भएको सेनाले जनाएको छ । साथै सो प्रकरणमा मुछिएका सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा गर्ने निर्णय सैनिक अदालतले गरेको छ ।

यसैगरी, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त)लाई सफाइ दिने गरी फैसला भएको छ ।

सेनाका एक उच्च अधिकारीले सेनाभित्र अब रिभर्स करप्सनले गति लिन थालेको र भ्रष्टाचार गरिसकेपछि म पहिला त्यहाँ कार्यरत थिएँ तर अब बचें भनेर मुक्त हुन सक्ने अवस्था नरहेको बताए ।

सेनाभित्र भ्रष्टाचार, अनियमितता तथा बेथिति बढेको गुनासो आउन थालेपछि पछिल्लो समय त्यस्ता गतिविधिविरुद्ध प्रधान सेनापति पूर्णचन्द्र थापाले कडा कदम चाल्दै आएका छन् ।

थापाले भ्रष्टाचारमा संलग्नहरू उपर कडा नीति अख्तियार गर्दै अघि बढेपछि सेनाभित्र भ्रष्टाचार तथा अनियमितता अभियोग लागेकाहरू धमाधम तानिन थालेका हुन् ।

यसअघि समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचारणसम्बन्धी कसुर गरेको अभियोगमा तीनजना अधिकृतसहित पाँच जनालाई दोषी ठहर गर्दै कारबाहीको फैसला गरेको थियो ।

त्यस बखत महासेनानी भुपालमान अधिकारीले महाविद्यालयमा सम्पर्क अधिकृत रहँदा आर्थिक अनियमितता गरेकाले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी दुई महिना कैद गर्न र सेवाबाट हटाउन आदेश भएको थियो । फैसलापछि दोषी देखिएका महासेनानीलाई पदबाट बर्खास्त गर्दै दुई महिना जेल सजायको आदेश भएको थियो ।

यसअघि समेत अवकाशप्राप्त प्राविधिक उपरथी सुधीर श्रेष्ठलाई सैनिक अदालतले हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गरेको ठहर गर्दै दोषी ठहर गर्दै ५८ लाख ९५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको थियो । त्यसअघि नै श्रेष्ठले गत मंसिरमा सैनिक सेवाबाट राजीनामा दिएका थिए ।

त्यस बखत श्री सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, आठ जना सैनिक अधिकृतहरूलाई सचेत र एक जना अधिकृत तथा नौ जना अन्य दर्जालाई सफाइ दिने गरी फैसला भएको थियो ।

सेनाले अनियमिततामा संलग्नलाई कोर्ट अफ इन्क्वाइरी गठन गरेरै अनुसन्धान गर्दै आइरहेको छ । कोर्टको अनुसन्धानपछि आरोप प्रमाणित भए कारबाहीको दायरामा ल्याउन सिफारिस हुनेछ ।

सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरणविरुद्धको क्रियाकलापमा शून्य सहनशीलताको नीति लिइने जनाएको छ । आजको राजधानी दैनिक मा खबर छ।