६ बैसाख २०७८, सोमबार

राजधानी संक्रमणको उच्च जोखिममा

Top Post समाचार
२१ असार, काठमाडौं ।  बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भए­÷नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको छ ।

‘‘शनिबार हामीले तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्‍यालको नमुना संकलन गरेका छौं,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा।वासुदेव पाण्डेले कान्तिपुरसँग भने, ‘दुई–चार दिनभित्रै वडाध्यक्षसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।

उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।

भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन । ‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा।पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’ उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’

केही विज्ञले उनको दाबीलाई अस्वीकार गरेका छन् । एक अध्ययनअनुसार हाल राजधानीको ढलमा समेत कोरोना भाइरस देखिएको दाबी गर्दै जनस्वास्थ्यविद् डा।राजेन्द्र बीसीले भने, ‘ढलमा कोरोना भाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो ।’ अमेरिका, युरोपलगायत मुलुकबाट हवाईजहाजमा आएका पहुँचवालाहरू एयरपोर्टबाट सिधै घर गएको औंल्याउँदै उनले भने, ‘उनीहरूले घरमै क्वारेन्टाइनमा बस्छु भने तर घरमा बसेरबसेनन् थाहा छैन । यो सरकारको कमजोरी हो ।’

राजधानीमा हालसम्म करिब १० देखि १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको डा. पाण्डेले जानकारी दिए । कतै भ्रमण इतिहास नभएका संक्रमित व्यक्तिलाई कोबाट रोग सर्‍यो भन्ने पहिचान हुन नसक्दा सरकारले स्थानीय व्यक्तिहरूको नमुना संकलन गर्न थालेको हो ।

कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।