एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरसको संक्रमण संसारभर तिब्र गतिमा फैलिएको जनाएको छ । विभिन्न देशले परीक्षणको दायरा बढेकाले संख्या बढेको बताएपछि डब्ल्युएचओले त्यसलाई खण्डन गर्दै परीक्षण धेरै भएर भन्दा पनि संक्रमण फैलिएको प्रष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा डब्ल्युएचओका आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रियालले भनेका छन्, ‘हामीले धेरै परीक्षण भएर संक्रमण बढेको भन्ने कुरा मान्दैनौँ । अस्पतालमा संक्रमितको संख्या बढेको छ र मृत्यु पनि घट्ने अवस्थामा छैन । कोभिड-१९ का संक्रमित बढ्नुमा परीक्षणले गर्दा भन्ने कुरा तर्कसंगत छैन । ज्यान लिने यो भाइरस संसारभर थप बलियोरुपमा प्रस्तुत भइरहेको छ । त्यसैले संसारभर अहिले संक्रमित बढेका छन् ।’
आइतबार एकै दिन १ लाख ८३ हजार भन्दा धेरै संक्रमित फेला परेपछि डब्ल्युएचओले पछिल्लो सात दिनमा अमेरिकामा कोरोना संक्रमणदर २४ प्रतिशतले बढेको जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा पछिल्लो ७ सातदिनमा कोरोना संक्रमित हुनेको संख्या २४ प्रतिशतले बढेको हो । अमेरिकामा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ ।
पत्रकार सम्मेलनमार्फत डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले कोरोना भाइरसले नयाँ गति लिइरहेकाले सबै कोरोनाविरुद्धको महाअभियानमा जुट्नुपर्नेमा जोड दिएका छन् । उनले पहिलो १० लाख संक्रमितको संख्या हुन ३ महिना लागेको र पछिल्लो १० लाख ८ दिनमै पुगेकाले सबैले सचेतता अप्नाउनुपर्नेमा जोड दिएका छन् ।
पत्रकार सम्मेलनमै डब्ल्युएचओका विशेष दूत डा. डेभिड नेब्ररोले संसारभरका व्यक्तिले भ्याक्सिन उपलब्ध हुने समय डेढ वर्ष लाग्ने भएकाले त्यसअघि सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘यो वर्षको अन्तिमसम्म भ्याक्सिन सफल भए पनि त्यसको परीक्षण, सुरक्षा र उत्पादनको चुनौती बाँकी नै छ । त्यसैले सबैको पहुँचमा भ्याक्सिन पुग्न समय लाग्छ ।’