गण्डकीमा एकैपटक ३८ नयाँ संक्रमित

Top Post समाचार

२५ जेठ, पोखरा । गण्डकी प्रदेशमा एकैपटक ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपुरका ४ जना छन् । १७ देखि ५२ वर्ष उमेर समूहका उनीहरु सबै पुरुष हुन् ।

सबैजना भारतबाट फर्किएर सम्बन्धित जिल्लाको पालिकामा निर्मित क्वारेन्टाइन बस्दै आएका थिए । उनीहरुलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जा वालिङका १३, भीरकोट नगरपालिकाका १, बागलुङ बडिगार्डका ९, ढोरपाटनका १, गोरखा गण्डकी गाउँपालिकाका ९, पालुङटारका १ र नवलपुर हुप्सेकोटका ४ जनामा शनिबार पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण फेला परेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए ।

गण्डकीमा शनिबारमात्र कास्कीका ३ सहित कुल १७ नयाँ संक्रमित फेला परेका थिए । आइतबार एकैपटक अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला परेका हुन् ।

प्रदेशअन्तर्गत बागलुङमा गत १५ चैतमा पहिलोपटक कोरोना पुष्टि भएको थियो । त्यहाँका २ जना बिरामी उपचारपछि डिस्चार्ज भएपछि प्रदेशलाई ‘ग्रिन जोन’ समेत घोषणा गरिएको थियो ।