गोरखाको प्रहरी हिरासतमा एक युवालाई कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङ्ग सुरु

Top Post समाचार

२५ जेठ, गोरखा। गोरखाको प्रहरी हिरासतमा एक युवालाई कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङ्ग सुरु गरिएको छ। उनि जबर्जस्ती करणिको आरोपमा पक्राउ परेका थिए। ती युवाको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । ‘आरडीटीमा रिपोर्ट नेगेटिभ आएका युवाको पीसीआर पोजिटिभ आएको छ,’ उनले भने ।

आरडीटी प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि ती युवा प्रहरीकै हिरासतमा थिए । आइतबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि ती युवालाई गोरखा अस्पतालको आइसोलेसनमा पठाउने तयारी भइरहेको गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । ‘अहिले हिरासतमै छन्, आइसोलेसनमा पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘ती युवासँग जो–जो प्रहरी सम्पर्कमा आए, उनीहरुको खोजी गरिरहेका छौँ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको स्वाब परीक्षणको क्रममा गोरखामा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्वुङको क्वारेन्टाइनमा रहेका ४/४ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखाका कोराना फोकल पर्सन नारायणबावु अर्यालका अनुसार ” संक्रमित सबैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।”