नेपाल अझै कोरोनाको उच्च जोखिममा : सिएमसी

Top Post समाचार

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरु र नेपाली सेनाका विशेषज्ञ चिकित्सकहरुले अन्तर्राष्ट्रिय ट्रेन्डका आधारमा यस्तो प्रक्षेपण गरेका हुन्।

‘हामीले गणितीय विश्लेषणका आधारमा गरेको अध्ययनले जुन र जुलाईमा बिरामी बढ्ने देखाएको छ’ नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा चिकित्सक एवम् सेनानी नविन फुयाँलले भने, ‘यो प्रक्षेपण ठ्याक्कै मिल्छ भन्ने छैन। तर हामीले यही अनुसारको तयारी भने गर्नुपर्छ।’

ठूला ठूला देशहरुमा समेत यो भाइरसले कस्तो रुप लिन सक्छ भनेर यथार्थ पत्ता लगाउन नसकेको भन्दै सेनानी फुयाँलले हाल परीक्षणको दायरा बढाइएकाले केसहरु पनि धेरै देखिएको बताए।

“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थपे, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ”