गोरखाका राजनीतिक दल निकट ब्यक्तिहरु द्वारा संचालित क्रसर उद्योग बन्द

Top Post राजनीति समाचार

गोरखा। मापदण्ड विपरीत गोरखा जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका गोरखाका क्रसर उद्योगहरु बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि गोरखाका क्रसर उद्योग बन्द गराइएको उनले बताए ।

गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

पर्यटन तथा उद्योग कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लामा तीन वटा क्रसर उद्योग दर्ता छन् ।

गोरखा नगरपालिकामा रहेको गोरखकाली क्रसर उद्योग, पालुङटार नगरपालिकामा रहेको सिम्रन क्रसर उद्योग र माई मनकामना क्रसर उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । तर कार्यालयका अनुसार यी तीनै क्रसर सम्बन्धित ठेगानामा संचालन भएका छैनन् । विगत केही वर्षदेखि नवीकरणसमेत नभएको कार्यालय प्रमुख सुर्य भुजेलले बताए ।

साविकको देउराली गाविस-८ मा संचालित हुनुपर्ने गोरखकाली क्रसर छेवेटारमा छ । २०६५ साल कात्तिक ७ गते दर्ता भएको उक्त क्रसर २०७४ साल पुस ५ गतेदेखि नवीकरण भएको छैन । तर पनि धमाधम संचालन भइरहेको छ । यस उद्योगका संचालक सुरेन्द्र कुवँर हुन् । उनी कांग्रेस निकट मानिन्छन् ।

पालुङटार नगरपालिकाको खोप्लाङमा संचालित माई मनकामना क्रसरको अवस्था पनि उस्तै छ । २०६५ साल पुस १६ मा दर्ता भएको उक्त क्रसर २०७३ असार ३१ देखि नवीकरण भएको छैन । तर संचालन कार्य रोकिएको छैन । उक्त क्रसर उद्योग नारायण श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठ भीमसेन थापा गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष समेत हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

२०६६ साल असोज २१ गते दर्ता भएर खोप्लाङमा संचालित सिम्रन क्रसर उद्योग पनि विगता पाँच वर्षदेखि नवीरकण भएको छैन । २०७४ पुस ५ गते नवीकरण सकिएको उक्त क्रसर पनि धमाधम संचालन भइरहेको छ । उक्त क्रसर उद्योगका संचालक बसन्त श्रेष्ठ हुन् । उनी कांग्रेसबाट निर्वाचित भएका हुन् ।

गत बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गोरखा जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।