काठमाडौँ। सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरुको बैठकले शुक्रबार पनि बैठक बसेर प्रमुख पदहरुको भागबण्डामा सहमति जुटाउने तय गरेकामा सोही अनुसार छलफल हुन लागेको हो। यद्यपि हालसम्म बैठकको समय भने तय भइनसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ । सोहीअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन् । सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् । यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो ।
बिहीबारको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव गरेका थिए । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको उक्त छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।
बिहीबारमात्रै प्रचण्ड संसदीय दलको नेता चयन भएका थिए । यस्तै कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि आ–आफ्नो पार्टीबाट संसदीय दलको नेता चयन भइसकेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा अब दुई दिनमात्रै बाँकी रहेको छ ।
यसैबीच प्रचण्डले बिहीबार पार्टीको बैठकमा पहिलो कार्यकालको प्रधानमन्त्रीमा आफ्नो दाबी रहने ब्रिफिङ गरेका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ’, पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले भने । कांग्रेस संसदीय दलमा रामचन्द्र पौडेलले देउवालाई प्रस्ताव गर्नुले गठबन्धनमा सत्ता साझेदारीमा सहज संकेत देखिएको प्रचण्डले बताएका थिए । लोकान्तर बाट।