चीनमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, २१ लाखजनाको मृत्यु हुन सक्ने प्रक्षेपण

समाचार स्वास्थ्य

एजेन्सी। एक नयाँ विश्लेषणअनुसार चीनमा आगामी केही महिनामा २१ लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ ।

चिनियाँ जनताले शून्य कोभिड नीतिअन्तर्गतको कठोर लकडाउनको विरोध गरेपछि सरकारले त्यसलाई खुकुलो बनाएको थियो । तर त्यसपछि बढेको संक्रमणले चिनियाँ अधिकारीहरूलाई चिन्तित बनाएको छ ।

चिनियाँहरूमा कमजोर रोगप्रतिरोधात्मक शक्ति तथा कम खोप लगाइएको कारण भाइरस फैलिरहेको हो ।

एयरफिनिटी नामक स्वास्थ्य तथ्यांक विश्लेषण कम्पनीको भविष्यवाणी अनुसार, चीनमा अहिलेदेखि मार्च महिनासम्म १३ लाखदेखि २१ लाखजनाको मृत्यु हुन सक्छ ।

हङकङमा शून्य कोभिड नीति खुकुलो बनाएपछि बढेको संक्रमणलाई आधार बनाएर चीनको भविष्यवाणी गरिएको हो । त्यहाँ पनि कम मानिसले खोप लगाएका थिए ।

उक्त कम्पनीकी एक प्रवक्ताले भनिन्, ‘हाम्रो विश्लेषणअनुसार मृत्युहरू जनवरी महिनामा चरममा पुग्छ ।’

पूर्व कूटनीतिकर्मी तथा चीनविशेषज्ञ रोजर गारसाइडले चिनियाँहरूको सम्भावित मृत्युले राष्ट्रपति सी चिनपिङको शासन खतरामा पार्ने बताएका छन् ।