काठमाडौँ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा गलत प्रचार गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नेकपा ९एमाले०को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत केहीले स्थापित अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग ९सोर्स कोड परिवर्तन० गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।
केही स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई ‘स्क्रीनसट’ गरेर सामाजिक सञ्जालमा पोष्ट गरिएको अध्यक्ष सापकोटाको भनाइ छ ।
“सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै ‘स्क्रीनसट’ गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो” अध्यक्ष सापकोटाले भन्नुभयो “यस्तो गलतकार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको उल्लङ्घन पनि हो ।”
आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहितरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्ने अवस्थामा पेसागत पत्रकार सङ्गठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उल्लङ्घन भएको ठहर गर्दै प्रेस सेन्टरले उक्त घटनालाई गम्भीररुपमा लिई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।