देशैभरको मौसम सुधार हुँदै

Top Post समाचार

काठमाडौँ। हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

यतिखेर दसैं सकिएर तिहारको सँघारमा केही दिनयता मौसम सुधारिएको छ। क्रमिक रूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताइन्।

उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा हुने देखिँदैन।

‘मौसम सुधारिँदै गएको छ। अब मौसम सुख्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन। केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ,’ उनले भनिन्।

राजधानी काठमाडौं लगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ।

भोलि शनिबार र आइबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।