काठमाडौँ। कलेजमा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेकव आरोपमा काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षक पक्राउ परेका छन् ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अंग्रेजी पढाउने शिक्षक ३० वर्षीय सरोज भट्टराई पक्राउ परेका हुन् ।
उनीमाथि कक्षा १२ पढ्ने एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसकै विरुद्धमा विद्यार्थीहरूले सोमबार बिहानैदेखि कलेजमा नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेको थिए ।
दुर्व्यवहारको आरोप लागेका शिक्षक सरोज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर तीनकुने वृत्तमा लगेको प्रहरी स्रोतको दाबी छ ।
दुर्व्यवहारको विरोधमा बिहानैदेखि नोबल एकेडेमी कलेजमा केही समय नारा जुलुस भएको थियो । त्यसपछि झण्डै एक सय जना विद्यार्थी नारा लगाउँदै माइतीघरतर्फ गएका छन् ।
पछिल्लो समय विद्यालय वा कलेजमा पढाउने शिक्षकहरूले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेका घटना सार्वजनिक भइहेका छन् ।
जेठको पहिलो साता काठमाडौंको चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका कलेजकै कोअर्डिनेटर समेत रहेका जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले गौशला प्रहरी वृत अगाडि प्रदर्शन गरेका गरेका थिए । अहिले त्यहाँका दुई शिक्षक पुर्पक्षको लागि जेलमा छन् ।