सडक विभागको लापरवाहीले आँबुखैरेनीमा २ जनाले ज्यान गुमाउनुपर्‍यो : गृहमन्त्री

Headlines समाचार

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले सडक विभागको लापरबाहीले गर्दा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताएका छन् ।

आज सोमवार गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा मन्त्री खाणले आँबुखैरेनी सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत हेलचेक्रयाइँ गरेको बताए । गृहमन्त्री खाँणले भने, ‘केही दिनअघि मात्रै पोखरा–मुग्लिन पृथ्वी राजमार्गमा बाटो भासियो । त्यो बाटो भासिन्छ भन्ने सडक विभागलाई पहला नै थाहा थियो रे । पक्की सडक चर्किसकेकाे थियो रे । चर्केको रिपोर्ट आएन वा होइन चल्छ भन्ने भयो । दुई जना यात्रुले त्यहाँ ज्यान गुमाउनुभयाे ।’

नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेकोले सरकारका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको उनकाे भनाइ थियाे । उनले प्रविधिसँगै रेडियो, टीभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए ।

गृहमन्त्री खाणले जोखिमसम्बन्धी पूर्वसूचना प्रसारणकाे कामलाई देशव्यापी बनाउनुपर्नेमा जाेड दिए ।

उनले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई बेलुकी ५ बजेसम्म उपलब्ध गराउन पनि निर्देशन दिए।