जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी, आज ११ बजे प्रचण्डले उद्घाटन गर्ने

Headlines राजनीति समाचार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा आजदेखि प्रशिक्षण दिने भएको छ । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।

‘माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख सबैलाई खबर गरी सकेका छौ । सबै आउनुहुन्छ । बुधबार बिहान ११ बजे अध्यक्ष प्रचण्डले उद्घाटन गरेपछि बेलुका ५ बजे सकिन्छ । बिहीबार बिहान ८ बजे सुरु भई बेलुका ६ बजे नारायणकाजी श्रेष्ठले समान गरेर सकिनेछ’ सचिव ढकालले भने, ‘सबै नेता र विषय विज्ञलाई प्रशिक्षण दिन विषय निर्धारण गरिएको छ । त्यसैमा रहेर जनप्रतिनिधिलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण दिएपछि पक्कै पनि जनप्रतिनिधिलाई राम्रो फिड ब्याक मिल्ने अपेक्षा लिएका छौ ।’

माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।

बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।