मौन अवधिमा सामाजिक संजाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई, उल्लङ्घन गरे उम्मेदवारी खारेज सम्म हुने

Headlines समाचार

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।