काँग्रेसको स्थानीय तह निर्वाचन ‘घोषणापत्र’को मस्यौदा तयार

Headlines राजनीति समाचार

१ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त मस्यौदा पारितसमेत गरेको छ।

काँग्रेसले घोषणापत्र तयार गर्न महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले तयार पारेको मस्यौदामा सुझाव दिन पार्टी पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आग्रह गरिएको छ। सुझाव वैशाख २ गते भित्र पठाइ सक्नुपर्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको सुझावहरूलाई सम्बोधन गरी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी रहेको काँग्रेसले जनाएको छ। साथै, बैठकले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्माको उपस्थिति रहेको थियो।

त्यस्तै, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियार र सदस्य विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जीपछिरिङ लामा र एनपी साउँदले मस्यौदामाथि बैठकमा धारणा राखेका थिए।