उम्मेदवारबारे तत्काल निर्णय नगर्न कांग्रेसको सर्कुलर

Top Post राजनीति

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्ने निर्णय तत्काल नगर्न देशभरका पार्टी कार्यसमितिलाई सर्कूलर गरेको छ ।

केन्द्रीय कार्यालयले सबै तहका कमिटीमा टेलिफोन गरेर तत्काल उम्मेदवार छान्ने निर्णय नगर्न भनेको हो ।

‘उम्मेदवार छनौटको सबै प्रक्रिया जारी रहन्छ । निर्वाचनको लागि उम्मेदवार नै तोक्ने निर्णय अहिले तत्काल नगर्न भनिएको हो,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ।

उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ले पार्टीपंक्तिमा परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो ।
जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ गतेसम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो ।

तर उम्मेदवार छनौटको लागि तल्लो तहका कमिटीले माथिल्लो तहको कमिटीमा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने तर उम्मेदवारको अन्तिम टुंगो भने अहिले नगर्न भनिएको पौडेलले बताए ।

‘तल्लो कमिटीबाट सिफारिस भएर आएपछि १ जना व्यक्तिलाई उम्मेदवार तोक्ने धेरै समय लाग्ने होइन । यो काम देशभर एकै दिनमा पनि गर्न सकिन्छ तर अहिल्यै उम्मेदवार तोक्ने काम नगर्नु भनिएको हो,’ पौडेलले भने ।

कांग्रेसमा स्थानीय तहको उम्मेदवार स्थानीय तहको समितिले सिफारिस गरेर पठाएको आधारमा जिल्ला कमिटीले नगर, उपमहानगरपालिकाको उम्मेदवारको सिफारिस सोही तहका कमिटीले प्रदेश कमिटीलाई गर्ने र प्रदेश कमिटीले उम्मेदवार छनौट गर्ने पार्टी विधानको व्यवस्था छ । महानगरपालिको उम्मेदवारको टिकट भने केन्द्रीय कमिटीले निर्णय गर्ने व्यवस्था छ ।

उम्मेदवार सिफारिसको सबै काम गर्न तर अन्तिम उम्मेदवारबारे भने अहिल्यै निर्णय नगर्न कांग्रेसको केन्द्रीय कार्यालयले सर्कुलर गरेको छ ।

५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपछि कांग्रेसले उम्मेदवार टुंगो लगाउने काम तत्कालका लागि रोकेको छ ।

कुन स्थानीय तहमा कुन पार्टीको उम्मेदवार हुने भन्ने टुंगो लागेपछि मात्रै कांग्रेसले आफ्नो पार्टीको उम्मेदवारबारे निर्णय गर्ने भएको छ ।