१ चैत, गोरखा। गोरखाको मनकामना केवलकार र शहिद लखन गाउंपालिका विच सम्झौता भएको छ। व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदान गरिने सहयोग रकम सम्बन्धमा मनकामना दर्शन प्रा.लि,र शहिद लखन गाउँपालिका बीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम मनकामना दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम वडा नं २ र ३(साविक मनकामना नमूना गाउँ विकास क्षेत्र)अन्तर्गत प्रभावित क्षेत्रहरुको विकास निर्माण तथा अन्य सहयोगको लागि खर्चिने गरी दर्शन प्रा.लि.ले आफ्नो केबुलकार सेवा आम्दानीको मु.अ.कर र अन्य कर बाहेक १ प्रतिशत रकम गाउँपालिलाई त्रैमासिक तवरले उपलब्ध गराउने सहमति भएको छ।
मनकामना दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं. २ र ३ (साबिक मनकामना नमूना गाविस क्षेत्र) का प्रभावित क्षेत्रको विकास निर्माण कार्यका लागि दर्शन प्रा.लि. ले व्यवसायिक सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत प्रदान गरिने सहयोग रकम वडा नं २ र ३ को समन्वयमा गाउँपालिका मार्फत सम्झौता अनुरुप उद्देश्य प्राप्तिको लागि विकास निर्माणका कार्य र मनकामना मन्दिर लगायत वडा नं. २ र ३ का धार्मिक क्षेत्रहरुको विकास निर्माण, संम्वर्द्धन, जिर्णोद्वार लगायतका भौतिक पूर्वाधार विकास कार्यका लागि खर्च गर्नेछ ।
सम्झौता बमोजिम शहिद लखन गाउँपालिका अन्तर्गत वडा नं. २ र ३ (साबिक मनकामना नमूना गाविस क्षेत्र ) साथै वडा नं.१ को बक्रेश्वर र ल्होप्पा गाउँ, वडा नं ५ को तोरेन र पोखरी डाँडा गाउँका स्थानीय बासिन्दा र वडा नं २ र ३ का नागरिकका सिमित नातेदार मात्रलाई प्रक्रिया पूरा गरी प्रचलित साधारण भाडा दरमा ८० प्रतिशत छुट सहुलियत प्रदान गरिने छ भने वडा नं २ र ३ मा कार्यरत कर्मचारीहरु तथा वडा नं २ र ३ का विभिन्न व्यवसायमा कार्यरत श्रमिकहरुलाई ६५ प्रतिशत छुट दिई टिकट उपलब्ध गराउनेछ ।
साथै गाउँपालिका र मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु र वडा नं २,३ तथा वडा १ र ५ को माथि उल्लिखित टोलहरु बाहेकका गाउँपालिकाका अन्य नागरिकहरुलाई २५ प्रतिशत छुट दिई टिकट उपलब्ध गराउने गरी सम्झौता सम्पन्न भएको छ ।साथै मनकामना दर्शन प्रा.लि. ले “प्रभावित क्षेत्र” का स्थानीय बासिन्दाले केबुलकारबाट यात्रा गर्दा लगेजको रूपमा ल्याएको २० के.जी. तौल सम्मको घरायसी सामानहरू निःशुल्क ढुवानीको व्यवस्था समेत गर्ने सहमति भएको छ ।
सम्झौताका लागि गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर र प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरको विशेष सक्रियता रहेको थियो। सो सहमति वाट गाउंपालिकाका नागरिकले विशेष लाभ लिने पनि अधिकृत मगरले वताए।