टानको नयाँ नेतृत्व सहमतिमा चुनौं : पुर्वउपाध्यक्ष सापकोटा

पर्यटन समाचार

७ माघ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का पूर्वउपाध्यक्ष राम प्रसाद सापकोटाले पर्यटन व्यवसाय बुझेको व्यवसायीक व्याक्तीलाई टानको नेतृत्व दिनुपर्ने बताएका छन्। सापकोटाले ट्रेकिङ क्षेत्र भित्रको सबै समस्या बुझेको जानेको व्याक्तिलाई टानको नेतृत्व नदिए टानको गरिमामा आच आउने समेत उल्लेख गरेका छन्।

टानको गरिमा जोगाउन पनि अब टानमा व्यवसाय बुझेको, पोटर हुँदै व्यवसायमा भिजेको व्याक्ति ल्याउन ढिलागर्न नहुने उनको तर्क छ । पालिका टाईम्ससंग कुरा गर्दै सापकोटाले कोरोना महामारीका कारण टानले आगामी नेतृत्व सहमतिमा टुग्याउनुपर्ने बताए । टान सबै पर्यटन क्षेत्रका व्याक्तीहरुको साझा संस्था भएकाले सहमतिमा नेतृत्व चयन गर्दा सकारात्मक सन्देश जाने उनको तर्क रहेको छ ।

तपाईंको दावी केमा छ ? भन्ने प्रश्नमा सापकोटाले पुर्वउपाध्यक्ष भइसकेकाले स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावी रहने उनले बताए । `मेरो स्वभाविक दाबी अध्यक्षमा हुन्छ तर म सबै साथीभाइको आग्रहमा सहमतिमा मात्र अध्यक्ष बन्न तयार छु´, उनले भने ।

आफू चुनावी प्रतिस्पर्धीको दौडमा भने नरहेका समेत उनले बताए । सहमतिमा नेतृत्व चयन हुननसके पर्यटन क्षेत्रको समस्या बुझेको, त्यसलाई हल गर्न सक्ने व्यावसायिक उमेदवारलाई आफ्नो समर्थन रहने सापकोटाले जानकारी दिए ।

टानको ४३औँ साधारणसभा एवं निर्वाचन माघ २८ गते तय गरिए पनि कोरोना महामारीका कारण अनिश्चित बनेको टानले बताएको छ ।