५ माघ, काठमाडौं । सार्वजनिक यातायातमाका कारण कोरोना संक्रमण जोखिम उच्च बन्दै गरेको भन्दै सरकारले सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेको छ। सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारीरूपमा कार्यन्यन हुननसक्दा जोखिम बढेको भन्दै सरकारले सार्वजनिक यातायात बन्द गर्ने तयारी गरेको हो।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सार्वजनिक यातायातमाका कारण कोरोना संक्रमण जोखिम उच्च बन्दै गरेको निस्कर्षमा पुगेका छन्। उनीहरु केहि दिनको लागि मात्र भए पनि सार्वजनिक यातायात बन्द गर्नुपर्ने निस्कर्षमा पुगेको बताइएको छ।
नयाँ भेरियन्टसहितको कोरोना दैनिक बढ्दै गएपछि सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ तर यो स्वास्थ्य मापदण्ड सबै सार्वजनिक यातायातमा लागू हुन सकेको छैन। अनुगमन गरेर मापदण्डविपरीत सार्वजनिक यातायात चलाउनेलाई कारबाही नहुँदा कोरोना सङ्क्रमण अझै बढ्ने खतरा देखिएको छ।
सार्वजनिक यातायात पाएसम्म सिट भएकैमा बस्ने गरे पनि सवारी पाउन घण्टौं कुर्नुपर्ने भएपछि यात्रुहरु उभिएरै यात्रा गर्न बाध्य छन् ।
सरकारले जारी गरेको मापदण्ड सरोकार भएका सरकारी निकायले अनुगमन गर्दैनन्। जसका कारण सबै यात्रु कोरोना सर्ने जोखिममा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास भने माघ १ गतेदेखि नै सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु चढाउने सार्वजनिक यातायातलाई कारबाही सुरु गरिएको बताउँछन्।
सिट क्षमताभन्दा बढी यात्रु चढाउने, मास्क नलगाउने यात्रुलाई चढाउने, गाडीभित्र एउटा मास्कको पाँच रुपैयाँभन्दा बढी लिने र स्यानिटाइजर नराख्ने सार्वजनिक यातायातका बारेमा ट्राफिक प्रहरीको टोल फ्रि १०३ मा सम्पर्क गरी सूचना दिन पनि महाशाखाले यात्रुलाई आह्वान गरेको छ।