कामचलाउ ओली सरकारले मन्त्रीमण्डल विस्तार गर्दै, जसपा र राप्रपा सरकारमा जाने

Headlines राजनीति समाचार

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।

शनिबार पपुलिष्ट बजेट ल्याएको ओली नेतृत्वको काम चलाउ सरकारले मन्त्रिपरिषदमा जसपाको अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र राप्रपालाई सरकारमा ल्याउने तयारी गरेको बुझिएको छ।

प्रधानमन्त्री ओलीले नागरिकता र संसद विघटनमा अदालती फैसला कुरी बसेको जसपाको ठाकुर र महतो पक्षलाई छिट्टै मन्त्री बनाउन खोजेको र १० वटा मन्त्रालय माग्दै आएको जसपाको उक्त पक्षलाई प्रधानमन्त्रीले हाल सात वटामा चित्त बुझउन आग्रह गरेको स्रोतको भनाइ छ।

यस्तै, गत शनिबार राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए। पछिल्लो समय जनमत संग्रहमा जाने र ओलीको उक्त कदमको समर्थन गर्दै आएका अध्यक्ष थापा पनि सरकारमा जाने बुझिएको छ। तर, ‘पार्टीमा छलफल नभई जानसक्ने अवस्था छैन । तीन जनामध्ये दुई जना अध्यक्षले त्यो प्रस्ताव नमान्ने प्रष्ट छ ।’ अध्यक्षनिकट एक जना सदस्यले भने।

प्रतिनिधिसभा भंग गरेर चौतर्फी आलोचित बनेका प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राप्रपाका अध्यक्ष थापालाई भेट्नुलाई चासोको साथ् हेरिएको छ। पछिल्लो समय गत जेठ ६ गते बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभाको एक पदमा भएको उपनिर्वाचनमा कमल थापाकै जोडबलमा राप्रपाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई सघाएको थियो । पार्टीमा बृहद छलफल नगरी एमालेलाई सघाएको भन्दै राप्रपाको कार्यकर्ता तहबाट विरोधसमेत भएको थियो ।

पार्टी विभाजन हुँदै राजनीतिकरुपमा कमजोर धरातलमा पुगेका ओलीले अन्तिम अश्रका रुपमा चुनावमा हिन्दु राष्ट्रको एजेण्डा ल्याउन सक्ने टीकाटिप्पणी समेत हुँदै आएको छ । ओली–थापा एजेण्डाका हिसावले दुई किनारामा रहे पनि विगतका उदाहरण र पछिल्लो क्रियाकलापले उनीहरुबीच ‘पोलिटिकल रिलेशसन’ अचम्मलाग्दो देखाएको बेला सरकारमा जाने बताइएको छ।

नयाँ मन्त्रीमण्डलहरुमा गृह र अर्थ मन्त्रालय मागेको जसपालाई प्रधानमन्त्रीले स्पष्टसँग ती मन्त्रालय दाबी नगर्न आग्रह गर्दै अर्को रोज्न भनेको बुझिएको छ।

आगामी पुनर्गठनको निम्ति ओली सरकारमा नयाँ परराष्ट्रमन्त्री बन्ने उम्मेदवारको खोजी हुन थालेको छ । स्रोतका अनुसार पहिलो चरणमा नियुक्त भएका मन्त्रीहरुलाई बिदा दिएर नयाँ अनुहार ल्याउने तयारी भएको हो ।

एमाले प्रवक्ता, महासचिवलगायतका नेता नै मन्त्रीमा संलग्न भएपछि पार्टीको काममा असर परेकोले त्यसो गर्न खोजिएको हो । स्रोत भन्छ ‘सरकारी ढाँचा,ढर्रा र सलाम खाँदैमा फुुर्सद नभएपछि पार्टी काम लथालिङ्ग हुनसक्छ ।’

प्रधानमन्त्री र दक्षिण दुबैतिर अच्छा दोस्ती रहेका भनिएका राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन अफर गरिएको महेश बस्नेतको दावी छ । भारतीय संस्थापन पक्ष बीजेपी र हिन्दु राज्य माग गर्नेहरुको लागि थापा एउटा आकर्षण बन्ने बालुवाटारको दाबी छ । थापा नाकाबन्दीताका पनि ओली सरकारमा परराष्ट्र मन्त्री नै थिए । यसअघि थापा दाजु नेत्रबहादुरलाई राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा पूरै अवधि राख्न सफल भएका थिए ।

थापा ओली सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नियुक्त हुने समाचारको राप्रपाकै एकजना प्रभावशाली नेताले भने खण्डन गरेका छन् । त्यो ‘हुनै नसक्ने’ उनको ठहर छ ।

गत संसदीय निर्वाचनमा नेपाली काँग्रेससँग मिलेर एक सिट पनि नजितेको राप्रपाले उता झापामा ओलीका कारण एक सिट जितेको थियो । औपचारिक एकता काँग्रेससँग गरेर झापामा पार्टीको नीति विपरित राजेन्द्र लिङ्देन ओलीसँग मिली विजयी भएका हुन् । अहिले राप्रपालाई सरकारमा ल्याउन सके आगामी निर्वाचनमा राप्रपासँग पनि तालमेल रहेको सन्देश दिन प्रधानमन्त्रीले पहल गरेको हुनसक्ने बताइन्छ ।