५ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रूपमा उम्मेदवार राम वहादुर थापालाई मतदान गर्न एक वक्तव्य जारी गर्दै आह्वान गरेका छन्।
वक्तव्यमा भनिएकोछ, यही २०७८ साल जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि निर्वाचन हुँदैछ । यसैगरी जेठ १७ गते लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि पनि मतदान हुनेछ । उक्त निर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वारको पक्षमा मतदान गर्न पार्टीका तर्फबाट महासचिवद्वारा यस निर्वाचनमा मतदाता रहेका जनप्रतिनिधिहरुलाई निर्देशन जारी भइसकेको कमरेडहरुलाई जानकारी नै छ ।
गत २०७७ फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ । संगसंगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ ।
जेठ ६ गते वागमती प्रदेशवाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने छ तसर्थ, यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।
जारी वक्तव्य