३० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गर्ने तयारी गरेका छन् । त्यसका लागि ओलीले दुई दिन अघिमात्रै गुरुङलाई बालुवाटार बोलाएर राजीनामा दिन दवाव दिएका थिए ।
‘तपाईं र मेरो विचार मिलेन । विचार नमिलेपछि तपाईं प्रमुख सचेतकबाट राजीनामा दिनुस्,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
त्यस क्रममा ओलीले गुरुङलाई दलको नेता आफू रहेको र आफ्नोविरुद्ध बोल्दै हिँडेकाले राजीनामा माग्नुपरेको बताएका थिए । तर, गुरुङले आफू कुनै व्यक्तिले भन्दैमा राजीनामा नदिने भन्दै संस्थागत निर्णय भए त्यसको पालना गर्न तयार हुने जवाफ दिएका थिए ।
पार्टीमा विचारको स्वतन्त्रता हुन्छ । संसदको कामकारवाहीमा त एकरुपता नै छ । त्यसैले मैले किन राजीनामा दिने ?’ भनेर प्रतिप्रश्न गरेका थिए । गुरुङको भनाइ सुनेपछि ओलीले ‘त्यसोभए म आफ्नो निर्णय गर्छु’ भनेका थिए ।
वालुवाटार उच्च स्रोतका अुनसार ओलीले गुरुङलाई हटाएर आफूनिकट मानिने पूर्वस्वास्थ्यमन्त्री समेत रहेका खगराज अधिकारीलाई प्रमुख सचेतकमा नियुक्ति गर्ने तयारी गरेका छन् ।
गुरुङलाई हटाएर अधिकारीलाई ल्याए सांसदहरुलाई ह्वीप जारी गर्न सक्ने, आफ्नो पक्षमा जस्तोसुकै निर्णय पनि गर्न सक्नेगरी ओली सो निर्णयमा पुगेका हुन् ।
बालुवाटार स्रोतले भन्यो, ‘गुरुङलाई राजीनामा दिन भनिएको हो । उहाँले राजीनामा दिनुभएन भने बर्खास्त गर्नुपर्ने हुन्छ ।’ ओलीले गुरुङलाई आफ्ना हरेक कदमको साथ नदिने बुझेर हटाउन लागेको बुझिएको छ ।