४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद बाँडेर प्रभावमा पार्न खोजिएको खुलेको छ। कोइरालाका सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च उपलब्ध गराउँदै हिँडेका छन्।
‘तपाईंसँग काम छ भेट्नुपर्यो’ भन्दैै पत्रकार लाई पैसा वांडेपछि शशांक कोइरालाको असलि रूप छरपस्ट भएको छ। यस्तो नियतले महामन्त्रीलाई र सिङ्गो पार्टिलाई नै क्षति पुग्ने एक कांग्रेस नेताले वताए।
‘शशांकको नाम लिँदै भरत तिवारीले जसरी पनि भेट्नु पर्यो, समय मिलाउन पर्यो भन्दै फोन गरेका थिए’, एक पत्रकारले भने,‘दसैंको मुखमा नेताको नाम लिँदै फोन गरेकाले नियत माथि प्रश्न उठेको र समय नदिएको वताए।
भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यमकै कार्यालयमा नगदसहितको खाम छाडेका थिए। अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए।
यस विषयमा महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारीसँग पत्रकारलाई किन पैसा बाँड्नु भएको भन्ने प्रश्न गर्दा उनले खुलेर जवाफ दिएनन्।
सुरूमा उनले पत्रकारलाई पैसा दिएको छैन भन्ने दाबी गरे।
अनलाइनखबरका पत्रकारलाई १५ हजार खाममा राखेर दिनुभएको र उसले तपाईंसँग नै बैंक खाता मागेर रकम फिर्ता गरेको रहेछ नि! भनेर सोध्यौ। यस विषयमा उनले जवाफ दिएनन्।
आधा घण्टापछि उनलाई फोन गर्दा उनले पत्रकारलाई रकम बाँड्ने आफूहरूको नियत नभएको दाबी गरे।