८ भाद्र, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशन गाउँपालिकामा बाढी पिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनि आएका समाचार तथा टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको छ ।
रामारोशनमा गएकाे बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर शुक्रबार गृह मन्त्री नेतृत्वको टोली त्यसतर्फ गएको थियो । बुधबार त्यहाँ बाढी पहिराले ठूलो जनधन क्षति भएको थियो ।
त्यही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।
गृह मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताउनुभयो । कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ ।
‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ ।