१६ साउन, काठमाडौँ। लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक–दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।
उनका अनुसार सरकारले सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने देखिएको छ । ‘बाहिरबाट मान्छे नआऊन् भन्ने विषयमा पनि छलफल भएको थियो,’ उनले भने । बैठकमा भदौ १ गतेपछि लामो दूरीका यातायात सेवा सञ्चालन र घरेलु र अन्तर्राष्ट्रिय विमान सञ्चालनका सम्बन्धमा सम्बन्धित मन्त्रालयले तयार पारेको मापदण्डमाथि पनि छलफल भएको उनले जानकारी दिए ।