माधव नेपाल ‘गद्दार’बाट दोस्रो अध्यक्ष !

पत्रपत्रिकाबाट समाचार

७ साउन, काठमाडौं । पार्टी निर्णय र निर्देशन उल्लंघन गर्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार भएको अभिव्यक्ति दिएको तीन दिनमै एमाले अध्यक्ष केपी ओलीले नेपाललाई दोस्रो अध्यक्षका रूपमा स्वीकार गर्न सकिने बताएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीको दोस्रो अध्यक्ष स्विकारेर भए पनि एकता जोगाउन तयार रहेको दाबी गरेका छन् ।

‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ, अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । १०बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचना २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ ओलीको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘माधव नेपालले मिल्ने हो भनेर दोस्रो अध्यक्ष मागे । मैले भनेको छु– पार्टी एकता बचाउन माधव आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता भए नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको बताएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । ‘अध्यक्षले बिहीबारसम्म केही नयाँ हुँदै छ भन्ने आशा देखाएर सम्बोधन गर्नुभयो, बैठक बुधबार सक्ने भने पनि लम्ब्याइएको छ,’ भट्टराईले ओलीलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘पार्टीको बृहत्तर एकताका लागि हामी अधिकतम लचक हुन तयार छौँ, अहिले दोस्रो अध्यक्ष भए हुन्छ भन्ने पनि कुरा आएको छ, पार्टी हितका निम्ति त्यो कुनै ठूलो कुरा भएन, म उहाँ (माधव नेपाल)लाई मान्न तयार छु ।’

ओलीले वरिष्ठ नेता नेपालले देउवालाई मतदान गरेर संसद् बचाइएको तर्क गरेको भन्दै खण्डन गरेका थिए । उनले पार्टीकै सांसदले आफूलाई विश्वासको मत नदिएका कारण संसद् बचाउन नसकिएको दृष्टान्त प्रस्तुत गर्दै त्यो भ्रमपूर्ण प्रचार मात्रै भएको प्रस्ट्याएका थिए ।

बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले अन्तिमसम्म एकताका लागि प्रयत्न गरेर विभाजन रोक्ने बताएको जानकारी दिए । ‘हामी अहिले पनि पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गरिरहेका छौँ । मोही नै मथेर भए पनि थोरै नौनी निस्किन्छ भने अन्तिमसम्म एकताका लागि प्रयत्न गर्नेछौँ,’ ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘तर, आन्दोलनलाई घात गर्ने प्रवृत्तिलाई, ध्येयलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौँ ।’

आफूले हदैसम्म लचकता अपनाउँदा पनि नेपाल केन्द्रीय कमिटीमा बहुमत पुर्‍याएर आफूलाई निकाल्ने योजनामा रहेकोसमेत ओलीको भनाइ थियो । ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएकै छैन, अनेक बहानाबाजी गरिँदै छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भन्ने कुरा आएको छ, के हामीलाई पार्टीबाट निकाल्नका लागि ?’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘ढुक्क हुनुहोस् कमरेडहरू, त्यस्तो हुन दिइनेछैन, उनीहरूले यस्तो अभ्यास त पहिले पनि गरेकै हुन् ।’

आफ्नै सरकारविरुद्ध संसद्मा मतदान गरेर आपराधिक काम गर्दासमेत आफूले अझै एकताका लागि प्रयास गरिरहेको ओलीको भनाइ थियो । ‘संसद्मा आफ्नै सरकारलाई मतदान गर्न उहाँहरू उपस्थित हुनुभएन, विपक्षीको सरकारलाई मत हालेर आफ्नो सरकार ढाल्नुभो, त्योभन्दा अनैतिक, आपराधिक र अराजनीतिक काम अरू के हुन्छ ? तर, मैले केही घिउ लागिहाल्छ कि भनेर फिँज हेरेरै भए पनि मथेको–मथ्यै छु, म अझै थाकिसकेको छैन, एकतामा कुनै कञ्जुस्याइँ गर्ने काम मबाट हुनेछैन ।’ आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।