६ साउन, काठमाडौं । एमालेको जारी १० औं केन्द्रीय समितिको तेस्रो दिनको बैठकले पार्टी एकतानिम्ति अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको छ । जसमा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार हुनुभएको बताइन्छ ।
आजको बैठकमा ओलीले आफू एकताका लागि हदैसम्म लचिलो भएकाले अन्तिमसम्म पनि प्रयास जारी राख्ने बताउनुभएको छ । उहाँले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र एकता भएमा सबै संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उल्लेख गर्नुभएको हो ।
अध्यक्षको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘माधव नेपालले मिल्ने हो भने पार्टी एकता बचाउन र उनी आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’ बैठकमा उहाँले भन्नुभएको छ, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ, त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्, किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुहोस् कमरेडहरु, त्यसो हुन दिइने छैन, किनकि यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन् ।’
संसदमा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालिएको सन्दर्भलाई उहाँले अनैतिक, अराजनीतिक र आपराधिक कार्य भन्नुभएको छ । ‘तर पनि मैले फिँजमा भए पनि केही घिऊ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु, तर म थाकेको छैन कमरेडहरु,’ उहाँले पछिल्लो प्रयासबारे बताउँदै त्यसो भन्नुभएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक आज साँझ ८ बजेसम्म बसेको थियो । बैठकपछि बोल्दै पार्टी प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले आजको बैठकमा महासचिव ईश्वर पोखरेलले सात वटै प्रदेशबाट प्राप्त सुझावलाई सम्बोधन गर्दै पार्टी एकता र अन्योलबारे स्पष्ट पार्नुभएको जानकारी दिनुभएको छ ।
बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने जानकारी दिइएको छ । भोलि दिउँसो १ बजे सोही स्थानमा पुष्पलाल स्मृति दिवस मनाउने निर्णय समेत बैठकले गरेको छ ।