माधव नेपाल पक्षीय सांसदहरूको भेला बानेश्वरमा जारी

Top Post समाचार

५ साउन, काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको बैठक बसिरहेको छ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षका सांसदहरुको बैठक जारी छ। नेपाल पक्षका सांसद मेटमणि चौधरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बसिएको बताए।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर, नेपाल पक्षले भने स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।

आजै बिहान नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटवार्ता भएको थियो।

उता ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बैठकपछि नेपाल समूहका सांसदहरूलाई स्पष्टीकरणको पत्र काट्ने तयारी छ।