Nepal army logo

नेपाली सेनाका आठ पृतना खारेज, नयाँ संरचनामा चार केन्द्रीय कमाण्ड हुने

समाचार

१ साउन, काठमाडौं। नेपाली सेनाले आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्रसंरचना लागू गर्दैछ । काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज भएका छन्।

अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु हुनेछन् । यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ । कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौं उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य-कमाण्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।