३० असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोट स्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान देखि धर्नामा बसेका हुन् ।
असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको विद्यार्थी नेता सुदेश पराजुलीले वताए।
इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।