२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन्।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार अपरान्ह ४ बजेपछि उनीहरू छलफलमा जुटेका हुन्।
केसीले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सभापतिका लागि आकांक्षीहरूसँग छलफल गरेका थिए।
पौडेल समूहबाट एक मात्रै सभापतिको उम्मेदवार बनाउन केसीले पहल गरिराखेका छन्। त्यसैलाई सार्थकता दिन भन्दै आज युवा नेतासँग छलफल गरिएको केसीनिकट एक नेताले बताए।
छलफलमा केन्द्रीय सदस्यहरू धनराज गुरूङ, बद्री पाण्डे, चन्द्र भण्डारी, गगन थापा, गुरूराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादव, किरण यादवलगायत रहेको केसीको सचिवालय स्रोतले जानकारी दिएको छ।