आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

Top Post समाचार स्वास्थ्य

२५ असार, काठमाडौँ। नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको आठ लाख मात्रा (डोज) खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो ।

खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।