विश्वासको मत पाएसंगै जोगियो सुदूरपश्चिम सरकार

Top Post पालिका बिशेष समाचार

२५ जेठ, काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सां‌सदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।

भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।