निषेधाज्ञा उल्लंघन गरे एक वर्ष कैद, पाँच लाख जरिवाना

Headlines समाचार

११ जेठ, काठमाडौं । जारी निषेधाज्ञा उल्लंघन गर्नेलाई अब एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुवै सजाय हुने भएको छ ।

काठमाडौ जिल्ला प्रशासन कार्यालयले आज जारी सूचनामा कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम सबैले निषेधाज्ञाको पालना गर्नुपर्ने भन्दै अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुनसक्ने बताएको हो ।सूचनामा कसैले अध्यादेशबमोजिम काम गर्न अवरोध पुर्याएमा १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने, अध्यादेशबमोजिम जारी मापदण्ड पालना गर्नुपर्ने र नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नसक्ने जनाइएको छ ।

यसैगरी महामारी रोकथामका लागि प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्नेलाई १ लाख र संस्था भए ५ लाख रुपैयाँसम्म जरिवाना हुने छ । मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर हिँडडुल गर्नेलाई पटकै पिच्छे २ सय रुपैयाँ जरिवाना हुने बताइएको छ ।

अध्यादेशअनुसार निषेधाज्ञामा अनुमतिबिना वा सुरक्षाकर्मीलाई जानकारी नदिई वा बिरामी ओसारपसार गर्ने बाहेक अन्य अवस्थामा सवारी चलाएमा दुई पाँग्रेलाई २ हजार र अन्यलाई ५ हजार रुपैयाँ जरिवाना गर्न सकिने पनि प्रशासनले जनाएको छ ।

यो बाहेक अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले थप ६ महिनाको लागि तिनका काममा रोक लगाउनसक्ने समेत बताइएको छ ।