एमालेको घरझगडामा बादलहरु रमिते मात्रै !

Top Post राजनीति समाचार

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारी एमाले र पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको प्रतिपक्षी एमालेबीच यतिबेला घरझगडा चलिरहेको छ ।

यो घरझगडा साम्य भएमा मात्रै एककृत नेकपा एमालेले पूर्णता पाउने छ । सोही घरझगडा मिलाउन दुबैतर्फका ५-५ जना सदस्य यतिबेला चर्को खटाईमा छन् ।

तर, नेकपा एमालेको घरझगडामा गृहमन्त्री रामबहादुर थापा बादल लगायत पूर्वमाओवादीका केही नेताहरु भने रमिते बनेका छन् । माओवादी केन्द्र पार्टी र सांसद पद समेत छाडेर एमालेमा पुगेका उनीहरुलाई पार्टीभित्रको यो झगडामा कुनै सरोकार नभएपनि बादललगायत नेताको एमालेमा व्यवस्थापन कसरी गर्ने भन्‍ने समस्या छ ।

एमाले पूर्ववत् अवस्था अर्थात माओवादीसँग एकता गर्नुअगाडिको संरचनामा गयो भने बादल लगायत नेताहरु आमन्त्रित केन्द्रीय सदस्यभन्दा माथिको हैसियतमा बस्‍न गाह्रो हुनेछ । एमालेमा महाधिवेशनबाटै निर्वाचित अध्यक्ष ओली, वरिष्‍ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, त्यसपछिका ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, र ५ सचिवसहितको केन्द्रीय कमिटी छ ।

दुई वर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेकपालाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले बदर गरेपछि गृहमन्त्री बादलसहित नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाह, गौरीशंकर थारु, दावा लामा, चन्द्रबहादुर खड्कालगायत नेताहरु ओली नेतृत्वको सरकारी एमालेमै रहेका थिए ।

सुरुमा ओलीविरोधी मोर्चामा प्रचण्डसँगै आन्दोलन गर्न सडकमा आएका एमाले नेता पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि सर्वोच्चको फैसलापछि सरकारी एमालेमा समाहित हुन पुगेका हुन् । अहिले एमालेभित्रको ओली समूह र माधव–झलनाथ समूहको विवाद मिलाउन प्रयासरत नेताहरुको छलफलमा बादल समूहका कसैलाई पनि राखिएको छैन ।

अर्को रोचक कुरा के छ भने एमाले नेता भिम रावलसँग बोलचाल समेत नभएका लेखराज भट्ट ,घनश्याम भूषालसँग राम्रो सम्बन्ध नभएका टोपबहादुर रायमाझी, माधव नेपाललाइ मनै नपराउने प्रभु शाह तथा सुरेन्द्र पाण्डेसँग आरोप-प्रत्यारोप गरिरहने रामबहादुर थापा ‘बादल’को एमालेमा व्यवस्थापन गराउने जिम्मेवारी भने अहिले कार्यदलमा रहेका रावल, भूषाल र पाण्डेले नै पाएका छन् ।

एमालेभित्रै एकता हुन नसकिरहेको सन्दर्भमा माओवादीबाट एमाले प्रवेश गरेका २३ केन्द्रीय नेता र तीनको पछी लाग्ने कार्यकर्ताको भविष्य के हुने भन्‍ने कुरा प्रतिक्षाकै विषय बनेको छ । साझा पोष्ट वाट