एमाले बिवाद समाधान कार्यदलको बैठक सकियो, आचारसंहिता तयार पार्ने निर्णय

Headlines समाचार

४ जेठ, काठमाडौं । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको पहिलो बैठक भर्खरै सकिएको हो ।

एमाले नेता भीम रावलका अनुसार बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कार्यदल सदस्य शंकर पोखरेल बाहेक सबै सदस्य उपस्थित हुनुभएको छ ।
आजको बैठकले एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन बिशेष अपिल गर्ने निर्णय गरेको छ । बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने निर्णय समेत गरेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । ‘कार्यदलको बैठकले सर्वसम्मत रुपमा देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय तोकेर जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट नेता नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।