व्यक्तिको विराेध भन्दा विधि बसाउने कि !

बिचार

युवराज वस्ताकोटि। एउटै संगठन हाेस् वा अर्काे संगठन , नेपाली राजनीति विराेध र टीका टिप्पणी मात्रमा अडिएकाे छैन , याे त घटिया शैलीको गाली गलाैजकाे स्तरमा ओर्लिएकाे छ ।
आफुलाई प्रजातान्त्रिक मान्ने हुन् वा साम्यवादी , यिनकाे एउटै साझा शैली र कर्म छ, त्याे हाे; गाली गलाैज र भद्वा आक्रमण । नेपाली राजनीतिमा बीस २०२० देखि सकृय मानिसहरु अहिले पनि सत्तामा छन् वा सत्ता प्राप्तिका लागि तिकडम गर्न कृयाशील छन् । ५० काे दशकमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका हरु ४० बर्ष पहिले राजनीतिमा पाइला टेकेकाहरुलाई गाली गलाैज गरेर , स्थापित हुन व्यस्त छन् । यसका केही दार्शनिक कारणहरु छन् ।

एक, पुराना नेतृत्वले विधि स्थापना गर्न सकेन वा पाएन । दुई, आजिवन सत्तामा रमाउने स्वार्थले प्रेरित भएर विधि स्थापना गर्न चाहेनन् । पहिलाे कारणकाे पनि कारण छन् ; नेपाली राजनीतिमा व्यवस्था कै स्थिरता रहेन , राणा शासन , नियन्त्रित प्रजातन्त्र , प्रजातान्त्रिक सरकार , निर्दलिय पञ्चायत तथा सकृय राजतन्त्र , संबैधानिक राजतन्त्र सहितकाे प्रजातान्त्रिक व्यवस्था र त्यहि व्यवस्था भित्र माओवादी विद्राेह , सकृय राजतन्त्र , अन्तरिम शासन , गणतन्त्र , विगत ७० वर्षको निकट ईतिहास हाे । सत्तामा पुगेर पनि ५ बर्ष निर्धक्क शासन गर्न नपाउने वा नसक्ने हुँदा , त्यहि शासकलाई फेरि शासनमा पुग्ने ख्वाब बाँकी नै रहने भयाे ।

दाेस्राे कारणकाे आफ्नै थप महत्त्वपूर्ण कारण छ ; त्याे हाे – याे समाजकाे चिन्तन र चरित्र । समाजकाे निम्न स्तरकाे चिन्तन र चरित्र ,जुन – सम्पत्ति र शक्ति नै सबै कुरा हाे भन्ने उपभोक्ताबादी चिन्तन पनि अर्काे कारण हाे जसले गर्दा विधि वसाल्न नेतृत्व तयार छैन । उसकाे पटक पटक चाहना एकै रहन्छ कि पटक पटक सत्तामा आफू नै पुगाैं वा आफ्नै मानिस पुर्याऊँ।
उमेर वहशकाे बिषय वनाउनु भयङ्कर अलाेकतान्त्रिक र भयावह कुरा हाे । बिषय त कति पटक नेतृत्वमा बस्ने भन्ने हाे । काेहि एक व्यक्ति कतिपटक पदमा पुग्ने , कति समय साे पदमा रहने भन्ने कुरा हाे । एउटा व्यक्तिले एक वा दुई कार्यकालमा शक्तिमा पुग्दा केही गर्न सकेन भने पटक पटक शक्तिमा पुर्याउने वा बर्षाैं , शक्तिमा बसिरहने र राज्यकाे ढुकुटीबाट जीवन चलाई रहने जुन नेपाली प्रवृत्ति छ , त्याे गलत व्यवहार र शैलीमा परिवर्तन आबश्यक छ ।

यसलाई हामीले विधि मार्फत विस्थापित गर्नु पर्ने हाे । अराजक शैलीमा कुनै व्यक्ति वा समूह माथि जाई लाग्नु पक्कै पनि असल चरित्र हाेईन । यसकाे केही पक्षहरु छन् जुन अब स्थापित मान्यता वनाउनु जरुरी छ । जस्तै , एउटा व्यक्ति वढिमा दुई कार्यकाल एउटा पदमा पुग्न रहन पाउने व्यवस्था हाेस् । यस्ताे व्यवस्था सानाे इकाई देखि राष्ट्र प्रमुख सम्म हुनु जरुरी छ ।

संबिधानमा नै दलकाे सदस्य देखि प्रमुख सम्म, राज्यकाे कुनै पनि इकाईमा वढिमा दुई कार्यकाल मात्र वस्न पाउने व्यवस्थाकाे विधि स्थापना नहुदा सम्म , देशमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणकाे माग सम्वाेधन हुन सक्दैन , त्यसै गरि नवीन साेच, दृष्टिकोण , कार्यक्रम र उर्जाले स्थान नपाउने निश्चित छ ।

अतः अबकाे पुस्ताले उमेर गनेर हाेईन , पटक गनेर , विचार र दृष्टिकोण हेरेर नेतृत्व चयनमा अगाडि वढ्नु र वढाउनु वुद्विमानी र क्रान्तिकारी पनि हाेला । गाली गलाैज र राता गाला गरेर समाधान निस्कदैन निस्कदैन ।