आन्तरिक राजस्व विभागको महानिर्देशक को बन्ला ?

Headlines समाचार

८ माघ, काठमाडौँ । आन्तरिक राजस्व विभागको महानिर्देशक पद रिक्त भएको १५ दिन भइसक्दा पनि अर्थमन्त्रालयले निर्णय गर्नसकेको छैन । कर असुलीको जिम्मेवारी पाएको विभाग १५ दिनदेखि निमित्तका भरमा संचालित छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवर २०७७ पुस २१ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भएपछि उक्त पदमा कसैलाई पठाइएको छैन ।

विभागको महानिर्देशकका लागि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली प्रबल दाबेदार हुन् । राजस्व अनुसन्धान विभागमा नक्कली भ्याटबिल र कर छलीका ३० अर्बभन्दा बढीको बिगोदाबी गरी मुद्दा दायर गरेका मैनालीले केपी ओली सरकारको नाक जोगाउने काम गरेका छन् ।

आन्तरिक राजस्व विभागको महानिर्देशकका लागि अर्थमन्त्रालयको राजस्व ब्यवस्थापन महाशाखाका महानिर्देशक रामेश्वर दंगाल, बजेट महाशाखा प्रमुख धनीराम शर्मा, गण्डकी प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्रालयकी सचिव चन्द्रकला पौडेलको नाम चर्चामा छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याल र यज्ञप्रसाद ढुंगेल पनि आन्तरिक राजस्व विभागको महानिर्देशकका लागि योग्य पात्र हुन् । उनीहरु राजस्व समूहबाटै आएका हुन् ।

गण्डकी प्रदेशबाट अर्थमन्त्रालयमा आएका रामप्रसाद घिमिरे पनि आन्तरिक राजस्व विभागको महानिर्देशकका दाबेदार हुन् । रक्षा मन्त्रालयको ब्यवस्थापन महाशाखा प्रमुख सहसचिव रामप्रसाद आचार्य पनि आन्तरिक राजस्व विभागको महानिर्देशकमा चर्चामा ल्याइएका छन् । उनले मोरंग र काठमाडौं जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् ।

विभागको महानिर्देशकको रुपमा चर्चामा ल्याइएका रामेश्वर दंगाल सचिव बढुवाको सूचीमा अगाडि रहेकाले उनले रुची नराखेको अर्थमन्त्रालय स्रोत बताउँछ । धनीराम शर्माले समेत विभागको महानिर्देशकमा रुची नदेखाएकाले मैनाली वा रामप्रसाद आचार्य बलिया दाबेदार देखिएका छन् । चन्द्रकला पौडेल विगतमा चुडामणि शर्मा महानिर्देशक हुँदा उपमहानिर्देशकका रुपमा काम गरिसकेकी हुन् ।