नागढुङ्गा सुरुङ मार्गको विवाद अन्त्य

Top Post समाचार

२७ पुस, काठमाडौं । नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्।

काम नरोक्न हामीसँग मौखिक सहमति भएको छ र नगरपालिकासँग पनि सहमति भएको छ, अहिले काम भइरहेको छ,’ महाशाखा प्रमुख अर्जुनजङ थापाले भने।

स्थानीयमा केही भ्रम सिर्जना भएपछि विरोधमा उत्रिएको उनको आरोप छ। गत पुस ७ गते औपचारिक रुपमा सुरु भएको सुरुङ खन्ने काम पुस २० गते विभिन्न माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले काम रोकेको थियो।

निर्माणका क्रममा भएको क्षतिलाई आयोजनाले तत्काल पुनर्निर्माण गर्नुपर्ने, परापूर्वकालदेखि प्राकृतिक रूपमा संरक्षण गरिएका खानेपानी निःशुल्क उपभोग गर्दै आएकोमा आयोजना निर्माण पश्चात पनि निःशुल्क हुनुपर्ने माग स्थानीयले गरेका थिए।