५० प्रतिशत ग्राहक राखेर क्लव तथा डान्सवार खोल्न दिने निर्णय

पर्यटन समाचार

३० मंसिर, काठमाडौं। सरकारले अनुमति दिएपछि ठमेलका रात्रिकालीन व्यवसाय मंगलबारदेखि संचालनमा आउने भएको छ। कोभिड- १९ का कारण ८ महिनादेखि बन्द रहेका ती व्यवसाय संचालन गर्ने निर्णय भएको ठमेल विकास परिषद्ले जनाएको छ।

मंगलबारदेखि पब, क्लब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज,बर्गर सप संचालनमा आउनेछन्। सरकारले ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालन गर्न अनुमति दिएको छ। सरकारको अनुमति अघि पनि केही क्लब र दोहोरी साँझ राती ९ बजेसम्म संचालनमा थिए। व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डका साथै प्रत्येक चार/चार घण्टामा डिस्इन्फेक्ट गर्नुपर्ने र प्रत्येक टेबल र स्टेजको दुरी एक मिटरको हुनु पर्नेछ।

‘रातभर खोल्न पाउनुपर्छ’
व्यवसायीहरुले रातको १२ बजेसम्म मात्र नभएर पहिलेको जस्तै रातभर संचालन गर्न पाउने माग गरिरहेको परिषदले जनाएको छ।

कर्मचारीदेखि व्यवसाय संचालन गर्दा खर्च बढी हुने भएकाले पूरै समय खोल्न पाउनु्पर्ने महासचिव धुव्र अधिकारी बताउँछन्। उनका अनुसार व्यवसाय पुरानै अवस्थामा फर्किन समय लागे पनि आन्तरिक पर्यटकले संचालन खर्च धान्न सकिने अनुमान छ।

पुस महिना सुरु भएपछि क्रिसमस र अङग्रेजी बर्ष सुरु हुन्छ। लामो समय बन्द भएको व्यवसायलाई यति बेला ठूलो राहत मिल्ने उनको भनाइ छ।