जेष्ट साकोसको बार्षिक साधारणसभा जुम एप मार्फत सदस्य सहभागिता सहित सम्पन्न

अर्थ प्रबिधि

काठमाडौं । गोंगबुस्थित जेष्ट बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा तथा १३औं बार्षिकोत्सब समारोह आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

अध्यक्ष पौड्यालले कोभिड महामारीको विषम् परिस्थितिमा पनि साकोसले प्रभाव व्यवस्थापनका लागि चालेका कदम सह्रानिय रहेको बताउनुभयो । उहाँले सहकारीलाई अब उत्पादन सँग जोड्नुपर्ने, त्यसका लागि उद्यमशीलता विकास निर्विकल्प माध्यम भएको भन्दै नेफ्स्कूनले उद्यमशीलता विकासका लागि विभिन्न साझेदार निकायहरुसँग सहकार्य गरी पहिलो चरणमा उद्यमी निर्माण गर्ने अभियानको थालनी गरेको जानकारी गराउनुभयो । उहाँले उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा नेफ्स्कूनले रणनीतिक मार्गनिर्देश गरिसकेको हुँदा अब प्रत्येक सहकारी उद्यमशीलता विकास मार्फत उत्पादन अभिबृद्धिमा जोडिनुपर्ने जानकारी गराउनुभयो ।

बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साकोसका अध्यक्ष इन्दिरा अधिकारीले कोभिड महामारीको विषम् परिस्थितिका बेला पनि सदस्य सेवा निरन्तरतलाई ध्यान दिँदै साकोसले सहुलियतपूर्ण ऋण सुविधा, सदस्य घरदैलो सेवा र वित्तीय एवम् सामाजिक सुरक्षणका कार्यक्रमहरुमा विशेष जोड दिएको जानकारी गराउनुभयो । उहाँले संस्थाको रणनीतिक योजना र व्यवसाय निरन्तरता योजना सहित साकोसका गतिविधिहरुलाई गतिशील र दिगो बनाउने अभियानमा जुट्नुका साथै सदस्यहरुलाई व्यावसायिकता विकासमा क्रियाशील बनाउने संस्थाको नीति रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला, चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।