सत्ता संकट टार्न ओलीको अर्को चौथो अस्त्र

Top Post राजनीति समाचार

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक अस्त्र फाल्न माहिर छन् । उनले नेकपा एमालेको राजनीतिबाट आफूलाई चतुर नेताको रुपमा उभ्याएका छन् । त्यो शैली अहिले झन् बढी देखिएको छ ।

नेकपा विभाजन हुँदा उनले वामदेव गौतमलाई पेलेरै जाने रणनीति बनाएका थिए । त्यसमा उनी सफल भएनन् मात्र पार्टीभित्र दोस्रो शक्तिशाली नेताका रुपमा देखिए । पछि ओलीले उनै वामदेवको साथ लिएर नेकपा एमालेको अध्यक्ष बन्ने सफलता हासिल गरे । तर, वामदेव ओली निकटस्थहरुको अन्र्तघातको शिकार भएर बर्दियाबाट चुनाव हारे । जसले उनको प्रधानमन्त्री बन्ने या सरकारमा मन्त्री बन्ने सपना चकनाचुर पारिदियो ।

वामदेवलाई ओलीले विभिन्न आश्वासन दिएर टाढा हुन दिएनन् । नेकपाभित्र ओलीविरुद्ध सत्ता संकट आउँदा वामदेवलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव सारे । उनलाई उपप्रधानमन्त्री बनाउने आश्वासन दिए । यसरी वामदेवका कारण ओलीविरुद्धको दुईपटकको सत्ता संकट टरेको थियो । ओलीले सचिवालयको बहुमत सदस्यबाट भएको घेराबन्दीलाई दुवैपटक तोडिदिए । पहिलोपटक उनले पार्टी विभाजनसम्मको धम्की दिए । त्यसका लागि संसदको अधिवेशन अन्त गर्न लगाएर राजनीतिक दलसम्बन्धी अध्यादेश समेत ल्याए । यसले नेकपाभित्र उनका विरोधीलाई पार्टी विभाजनको खतरा टार्न पछि हट्न वाध्य पारेको थियो ।

ओलीले अर्कोपटक वामदेवमार्फत् सहमतिको छ बुँदे प्रस्ताव ल्याउन लगाएर सत्ता संकट टारे । यो घटनाले उनीविरुद्धको घेराबन्दी तोडिएको थियो । उनले फालेको राजनीतिक अस्त्रले पार्टीभित्र र बाहिरका विरोधीहरु पटक पटक विफल हुनेगरेका छन् ।

ओलीले दोस्रोपटकको सत्ता संकट टार्न सहमतिमा सरकार र पार्टी संचालन गर्ने भनी निर्णय समेत गराए । तर, मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिमा एकल निर्णय गरे । उनीविरुद्ध पार्टीभित्र घेराबन्दी भयो । ओलीले यतिबेला फेरि एकपछि अर्को राजनीतिक अस्त्र फालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामना गर्ने बताएका छन् ।

पछिल्लो पटक ओली निकटस्थबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव समेत आएको छ । कतिपयले सचिवालय पुर्नगठनको विषय राखेका छन् । ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम जस्ता अघिल्लो पुस्ताभन्दा फरक दोस्रो पुस्ताबाट नेतृत्व हस्तान्तरणको अस्त्र हानेका छन् । छाड्नै परे इश्वर पोखरेल वा विष्णु पौडेल जस्ता दोस्रो पुस्तालाई छाड्ने ओलीको सन्देश हो यो । यसलाई पनि उनको राजनीतिक अस्त्रका रुपमा हेरिएको छ । यसले दोस्रो पुस्ताका नेताहरुमा ओलीप्रति आकर्षण बढ्न सक्छ ।