ह्यात रिजेन्सी होटलले आफ्नो सम्पत्ति मूल्यांकन गर्न नयाँ कम्पनी छान्यो

समाचार

२३ कार्तिक, काठमाडौँ। तारागाउँ विकास समितिअन्तर्गत सञ्चालित काठमाडांैको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल लिमिटेड (ह्यात रिजेन्सी) होटलले आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न नयाँ कम्पनी छनोट गरेको छ ।

डेढ वर्षअघि आन्तरिक समस्या एवं होटलभित्रका मजदुर युनियनको बन्द हड्तालका कारण केही समय बन्द भएको तारागाउँ रिजेन्सी होलट लिमिटेडले आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न जिपी राजबहाक एन्ड कम्पनीलाई छनोट गरेको हो । आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न तारागाउँले कम्पनी माग गर्दै गत ३ साउनमा प्रस्ताव आह्वान गरेपछि सो समय विभिन्न सातवटा कम्पनीले आवेदन दिएका थिए । विभिन्न सातवटा कम्पनीमध्ये छनोटमा परेको यस नयाँ कम्पनीले ८ लाख रुपैयाँमा आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन गरिदिने प्रतिबद्धतता गरेको लिमिटेडले जनाएको छ ।
यसअघि सरकारी स्वामित्वसमेत रहेको यस लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सार्वजनिक दबाब बढ्दै गएको थियो । व्यवस्थापकीय सुधारमा भएका विविध कमजोरी सुधारेर अघि बढ्न चौतर्फी दबाब भएसँगै सुरुमा कायम रहेको सरकारी सेयर घट्दै गएर न्यूनतममा पुगेपछि सरकारमाथि पनि गम्भीर प्रश्न उठेर दबाब परेको थियो । हाल तारागाउँ रिजेन्सी होटलमा सरकारको तर्फबाट तारागाउँ विकास समितिले प्रतिनिधित्व गर्दै आएको छ ।

सरकारअन्तर्गतको तारागाउँ विकास समितिले २०४९ सालमा १ सय ५० रोपनी जग्गा ह्यात रिजेन्सी होटल बनाउन दिएको थियो । त्योसँगै वार्षिक ३० लाख रुपैयाँ सरकारले पाउनेगरी १ सय ४८ रोपनी जग्गा भाडामा दिइएको छ । त्यतिबेला प्रतिरोपनी १० लाखका हिसाबले जग्गाको १५ करोड र अन्य भौतिक संरचनाको थप २ करोड गरी कुल १७ करोड रुपैयाँ सरकारको लगानी मानिएको थियो । अहिले आन्तरिक समस्या एवं मजदुरसंगठने बेलाबेलामा गर्दै आएका अवरोध र राजनीतिक हस्तक्षेपका कारण यस होटल घाटामा गएको । जसका कारण थप पुँजी लगानी गर्नुपरेको कारण हाल सरकारको सेयर लागत घट्दै गएको सम्बन्धित सारोकारवाला एवं निजी साझेदारको धारणा छ ।

उनीहरूका अनुसार व्यवस्थापन सम्हालेको निजी साझेदारले स्थापनाकालदेखि अहिलेसम्म यस होटलमा नाफा देखाएको छैन । सरकारले यस होटलबाट अहिलेसम्म एक पैसा पनि प्रतिफल नपाएको उनीहरूको आरोप छ । यस्तो अवस्थामा उल्टै निजी साझेदारले होटल घाटामा गएको भन्दै लगानी बढाउँदै लगेको देखाएको उनीहरूले जानकारी गराएका छन् । निजी साझेदारले लगानी बढाउँदै लगेको देखाएपछि अहिले सरकारको सेयर हिस्सा घट्दै गएको हो ।

२०४९ सालको २२ असोजमा तारागाउँ विकास समिति, आईसीटीसी ग्रुप र राधेश्याम सर्राफबीच भएको सम्झौता अनुसार ह्यात रिजेन्सी होटलमा सरकारको ३९.७७ प्रतिशत र निजी साझेदारको ६०.२३ प्रतिशत सेयर थियो । पछिल्लो समय कोरियन डेभलपेमन्ट बैंक सिंगापुरले ४ लाख ९ सय कित्ता अग्राधिकार सेयर र साधारणतर्फको ४२ हजार ७ सय ८० कित्ता सेयर आईसीटीसी होल्डिङ कम्पनीलाई बेचेको छ । यसैगरी, साधारण तर्फको बाँकी ५ लाख १४ हजार १ सय ७५ कित्ता सेयर डोमिनियन इन्भेस्टमेन्ट र अग्राधिकार तर्फको ४ लाख ४७ हजार कित्ता सेयर डोमिनियन इन्भेस्टमेन्ट हङकङलाई बेच्न सैद्धान्तिक सहमति लिएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार हाल यस होटलमा राधेश्याम सर्राफको १२.२५ र आईसीटीसीको ७.८९ प्रतिशत सेयर छ । यसैगरी, आईसीटीसी होल्डिङ कम्पनीको १०.०९ डोमिनियन इन्भेस्टमेन्ट हङकङको २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड (बिभिआई) को ९.५३, तारागाउँ विकास समितिको ९.०१ प्रतिशत र सर्वसाधारणसहित अन्यको ३२ प्रतिशत हिस्सा सेयर रहेको छ । डोमिनियन सर्राफकै मान्ने हो भने उनको लगानी ४२ प्रतिशतभन्दा बढी हुन आउँछ । सुरुमा उनको लगानी ३३ प्रतिशत मात्रै थियो । विगतका वर्षमा यस होटलमा भएका अनेक समस्या एवं राजनीतिक हस्तक्षेपका कारण अहिलेसम्म यस होटलले पनि सरकारी अन्य कम्पनी जस्तै यहाँ विभिन्न क्षेत्रबाट लगानी गर्ने सर्वसाधारणले समेत प्रतिफल पाउन सकेका छैनन् । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा ननिकको एकदमै ठूलो क्षत्रफलमा सञ्चालित यस होटलको शाखालाई समेत धराशायी बनाएको छ । आजको राजधानी दैनिक मा मधुजंग पाण्डेले समाचार लेखेका छन्।