ओलीको प्रश्नै प्रश्नले घेरिए प्रचण्ड तर नाजवाफ वने

Top Post समाचार

२० कार्तिक, काठमाडौं । बिहीवार मध्यान्ह बालुवाटार पुग्नुभएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जब पार्टी कामको फेहरिस्त माग्नुभयो, प्रचण्ड नाजवाफ भई अन्यत्र कुरा मोड्नुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई अप्ठेरो पार्ने गरी बालुवाटार भित्रिएपनि प्रचण्डले कार्यकारीको रुपमा पार्टीमा आफूले के काम गरेँ भन्ने जवाफ दिन सक्नुभएन । बरु पुरानै विवादका कुरा झिक्न खोज्नुभयो ।

सरकार एकलौटी ढंगले चलाएको, मन्त्रीहरु आफूखुशी नियुक्त गरेको, कर्णालीमा विवाद झिकिएकोलगायत कुरा प्रचण्डले सुनाएपछि ओलीले तपाईले पार्टीको काम कति गर्नुभयो, त्यो सुनाउनुस् भनी जिज्ञासा राख्नुभएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
स्थायी कमिटी र पार्टी सचिवालयले यसअघि त्यति धेरै छलफल गरी पार्टी कामको जिम्मेवारी दिएपछि त्यो गर्नु पर्छ कि पर्दैन ? भनी प्रधानमन्त्री ओलीले सोध्नुभएको थियो ।

‘प्रचण्डले त्यतातिर केही बताउन सक्नुभएन । खाली सचिवालय बोलाउँ । सचिवालयमा छलफल गरौँ । पार्टीलाई विभाजनतिर नलैजाउँ भन्नुभयो । पार्टीमा अनिवार्य रुपमा गर्नुपर्ने कामहरुका बारेमा भने केही बताउन सक्नुभएन, स्रोतले जानकारी दियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफूविरुद्ध षडयन्त्र गरेको, घेराबन्दी गरेको भन्दै त्यसको डटेर सामना गर्ने बताउनुभएको थियो ।

‘एकै पार्टीमा बसेर आफ्नै पार्टीको सरकारविरुद्ध हस्ताक्षर अभियान थाल्ने, कानुनविद् बोलाएर कसरी मलाई हटाउन सकिन्छ भनी खोँचे थाप्ने ?’ ओलीले प्रचण्डलाई प्रश्न गर्नुभएको थियो, ‘यति धेरै गर्नै पर्दैन । सबै काममा किचकिच गरिरहने हो भने मैले त भनी नै सकेको छु, आ-आफ्नै बाटो लागौं ।’

ओलीले सरकार ढाल्नका लागि कहिले खुमलटार, कहिले कोटेश्वर तानाबाना बुन्ने गरिएको भन्दै पार्टी बनाउने, सँगठन बढाउने, सरकारलाई सहयोग गर्ने कुरामा त्यति लागे के हुन्थ्यो ? भनी अर्को प्रश्न गर्नुभएको थियो ।