नेपाल भ्रमणका वेला नरभानेको वसाई सोल्टी होटलमा, सुरक्षा व्यवस्था कडा

Top Post समाचार

१९ कार्तिक, काठमाडौं । तीन दिन नेपालमा रहने भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आवासका निम्ति कोरोनाको कारण लामो समयदेखि बन्द रही संक्रमितलाई राख्न आइसोलेसन क्याम्पको रूपमा प्रयोग हुने गरेको ताहाचल स्थित सोल्टी होटलमा आवश्यक सबै तयारी गरिएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको समेत स्वामित्वको यही होटेलको गोसाइँकुण्ड सुइटमा पोहोर चिनियाँ रास्ट्रपति सि चिनफिङ्गलाई पनि राखिएको थियो ।
होटेलका महाप्रबन्धक भारतीय नागरिक उत्पल मजुम्दार हुन् । उच्च सुरक्षालाई ध्यानमा राखेर मेरियटको सट्टा सोल्टी होटल छनौटमा परेको बताइएको छ । नरभानेको आउजाउ सबै हेलिकोप्टरमा गराइने भएपछि सोल्टी होटल रोजाईमा परेको उच्च स्रोतको दावी छ।

कार्यक्रम अनुसार नरभानेले मानार्थ दर्जा ग्रहणपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने त्यहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट हुनेछ । नरभानेको औपचारिक कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेट गर्ने तालिका समावेश छ । शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जानेछन् ।

माउण्टेन फ्लाइटबाट विशेषगरी सगरमाथालगायतका उच्च हिमश्रृंखला देखाइने छ । व्यस्तता र सडकको अवस्थालाई ध्यानमा राखेर उनलाई सोल्टी होटलबाटै हेलिकोप्टरमा सेनाको शिवपुरीस्थित स्टाफ कलेज लैजाने अर्को तयारी छ ।

नरभानेको कार्यक्रममा होटलबाटै हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले हेलिप्याड भएको होटल खोज्ने क्रममा सोल्टी होटल रोजाईमा परेको र सडक सुरक्षाको बिशेष जिम्मेवारी नेपाल र सशस्त्र प्रहरीलाई दिइएको गृह स्रोतले बताएको छ ।

सोल्टी होटल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा:

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको छ ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
कालो झन्डा देखाउने तथा विरोध प्रदर्शन हुनसक्ने आंकलन गर्दै त्यस्तो समूह वा व्यक्तिलाई कडा निगरानीका साथै पक्राउ गर्नेे सम्मको तयारी रहेको प्रहरी अधिकृतले वताए।