छलफल र वहसबाट सकारात्मक निष्कर्ष निकाल्नु पर्नेमा नेकपा प्रवक्ता श्रेष्ठको जोड

Headlines राजनीति समाचार

१७ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर भए पनि पार्टी अलग गर्ने भनि आएको कुरा सही नभएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले त्यस विषयलाई व्यक्तिगत कटुतासहितको विषय बनाउने भन्दा उक्त विषयलाई छलफल, वहसबाट सकारात्मक निष्कर्ष निकालनु पर्नेमा जोड दिएका हुन् ।

उनले देश र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ तथा रुपान्तरणमुखी छलफल गर्न आवश्यक रहेको जनाएका छन् ।

उनले लेखेका छन् ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन् । तर त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्काे सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं । पार्टी भित्रको छलफल, वहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं ।’

उनले थप लेखेका छन् ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति, प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तै चुप मै चुम नगरौं, तुम शेर तो हम सवा शेर झै व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं ।’

उनले पार्टी एकताको रक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।